
मेरा प्रिय आमा, बुवा तथा दाजुभाई दिदीबहिनीहरु,
नमस्कार,
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मुलुकले धेरै परिवर्तन देख्यो, तर ती परिवर्तनको समानुपातिक लाभ सबै भूगोल र पुस्ताले पाउन सकेनन्। इलाम–१ सम्भावनाले भरिएको क्षेत्र हो। तर सम्भावना आफैं अवसर बन्दैन-त्यसका लागि दृष्टि, योजना र जिम्मेवार नेतृत्व चाहिन्छ। यहि सम्भावनाहरुलाई अवसरमा बदल्ने अठोटका साथ मैले यस क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई यो प्रतिबद्धता पत्र लिएर आएको छु |
राजनीति मेरो लागि पद होइन, जिम्मेवारी र पुस्तान्तरणको पुल हो-जहाँ जेन-जि पुस्ताको आकांक्षा र बुढा आमा–बुबाको अनुभूति एकआपसमा जोडिन्छ। इलामको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा स्थापित गर्नु नै मेरो मूल प्रतिबद्धता हो। इलाम केवल भूगोल होइन, इतिहास, श्रम र संस्कृतिको संगम हो। सन्दकपुर देखि माईसम्म हिँड्दा मैले किसान, युवा, श्रमिक, विद्यार्थी, कर्मचारी र उद्यमीका सम्भावना र संघर्ष नजिकबाट देखेको छु र नीति, योजना तर्जुमा गर्ने देखि लिएर कार्यान्वयनसम्मको अनुभव बटुलेको छु ।
मेरो एजेण्डा सीधा जीवन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडिएका छन्:
- किसान र उत्पादन अर्थतन्त्र: चिया, दुग्ध तथा इलामका ७ ‘अ’का लागि GI (भौगोलिक संकेत) ब्रान्डिङ, गुणस्तरमा आधारित न्यूनतम मूल्य संरचना, प्रशोधन उद्योग, बजार पहुँच, चिस्यान र भण्डारण पूर्वाधारमार्फत किसानको आम्दानी सुनिश्चित गर्ने।
- स्थानीय अर्थतन्त्र: कृषिमा आधारित उद्योग, साना तथा मझौला उद्योग (SME) सुदृढीकरण, मूल्य अभिवृद्धि (Value Addition) र निर्यात तयारी प्रणाली विकास गर्ने।
- युवा रोजगारी तथा उद्यम: सीपमा आधारित तालिम, स्टार्टअप, युवा उद्यम वित्त र Learn+Earn मोडेलमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने।
- शिक्षा: इलाम–१ लाई प्राविधिक तथा सीपमूलक शिक्षाको हब बनाउने – यसको ऐतिहासिक शैक्षिक पहिचानलाई आधुनिक प्राविधिक र उद्योग–जोडिएको STEAM शिक्षासँग जोड्ने।
- पर्यटन र सांस्कृतिक अर्थतन्त्र: चिया–पर्यटन, इको–ट्रेल, होमस्टे र सांस्कृतिक सम्पदालाई जोडेर इलाम–१ लाई पूर्वी नेपालको पर्यटन गेट्वे बनाउने।
- पूर्वाधार र बजार पहुँच: उत्पादन–केन्द्रित सडक, सिँचाइ, डिजिटल र सीमापार बजार जडान मजबुत बनाउने।
- सुशासन र उत्तरदायित्व: विज्ञ टोलीको सल्लाहमा नीति वकालत, इलाम र काठमाडौंमा समन्वय कार्यालय, सार्वजनिक प्रतिवेदन र नतिजामा आधारित कार्यप्रणाली लागू गर्ने।
मेरो प्रतिबद्धता, मेरो दृष्टि:
- इलाम–१ लाई बस्न, काम गर्न र लगानी गर्न योग्य निर्वाचन क्षेत्र बनाउने,
- सम्भावनालाई उत्पादनशीलतामा रूपान्तरण गर्ने, किसानको आम्दानी सुनिश्चित गर्ने,
- आधुनिक सीप र शिक्षा प्रणाली, कृषि, संस्कृति, पर्यटन आदि मार्फत स्थानीय अर्थतन्त्र प्रवर्धन गर्ने
- र युवा उद्यमशीलता अनि उत्तरदायी तथा नतिजामा आधारित नीतिमार्फत सुशासन स्थापित गर्ने हो।
यो दस्तावेज मेरो दृष्टिकोण मात्र होइन-मूल्याङ्कनको आधार पनि हो। म भाषणले होइन, परिणामले मापन हुन चाहन्छु। जय नेपाल !
कृषि र किसान आय सुरक्षा
- चिया, दुग्ध, आलु, अलैंची र सुपारी सहित ७ ‘अ’ मुख्य बालीहरूको लागत–उत्पादन अध्ययन र गुणस्तरका आधारमा कार्यविधि बनाई न्यूनतम समर्थन मूल्य निर्धारण गरिनेछ र मूल्य संकटको समयमा किसानबाट न्यूनतम खरिद सुनिश्चित गर्न कृषि मूल्य स्थिरीकरण कोष प्रस्ताव गरिनेछ।
- किसानलाई बिचौलियामा निर्भर हुन नपरोस् भन्न नगरस्तरीय संकलन केन्द्रमा डिजिटल मूल्य सूचना बोर्ड सहितको बजेट सुनिश्चित गरिनेछ र उत्पादन घनत्वका आधारमा क्षेत्रीय शीतभण्डारण विस्तार गरिनेछ।
- ‘गोठदेखि ओठसम्म, आलीदेखि थालीसम्म’ अवधारणा अनुसार प्राङ्गारिक मल उत्पादन, अर्गानिक खेती प्रवर्द्धन, बाँझो जग्गा उपयोगका लागि चक्लाबन्दी, सामूहिक खेती र जडीबुटी खेतीमा विशेष अनुदान उपलब्ध गराइनेछ।
- दार्जिलिङ टि सरह ‘इलाम अर्थोडक्स / इलाम टि’ का लागि GI (Geographical Indication – भौगोलिक संकेतक) दर्ता गराई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरिनेछ र प्रमाणित किसान, सहकारी तथा उद्योगलाई निर्यात पहुँच सुनिश्चित गरिनेछ।
- EU/USDA अर्गानिक प्रमाणीकरणका लागि संघीय अर्गानिक रूपान्तरण अनुदान प्रभावकारी बनाइनेछ।
- चिया उत्पादक र श्रमिक समूहसँग समन्वय गरी निर्यात प्रमाणीकरण मापदण्डअनुसार श्रमिक कल्याणकारी कार्यक्रम लागू गर्न पहल गरिनेछ ।
- वि.सं. २०४५ देखि सञ्चालित दुग्ध विकास आयोजना (DDC) को पुनर्संरचना गरी किसानको दूध समयमै खरिद र तत्काल भुक्तानी, लागतमा–आधारित दुग्ध मूल्यको वार्षिक अद्यावधिक गर्न पहल गरिनेछ ।
- उच्च उत्पादन क्षेत्रहरूमा चिस्यान केन्द्र स्थापना गर्न वित्तीय सहयोग सुनिश्चितता साथै दीर्घकालीन भण्डारणका लागि दुग्ध पाउडर प्रविधि प्रवर्द्धन गरिनेछ।
- दुग्ध तथा पशुधन उत्पादनमा जोखिम घटाउन Foot-and-Mouth Disease (खोरेत, भ्यागुते रोग आदि) नियन्त्रणका लागि नियमित खोप, सीमावर्ती निगरानी, आपतकालीन प्रतिक्रिया संयन्त्र र पशु बीमा दर्ता अभियान विस्तार गरिनेछ ।
- जौबारीस्थित आलु विकास केन्द्र को प्रभाव क्षेत्र विस्तार गर्दै शीतभण्डारण, बीउ गुणस्तर प्रयोगशाला र अध्ययन केन्द्र विकास गरिनेछ र सुपारी, जडीबुटी र ७ ‘अ’ का लागि प्रशोधन, ग्रेडिङ, प्रमाणीकरण र बजार पहुँच समुदायस्तरमै सुदृढ गरिनेछ ।
शिक्षा तथा सीप केन्द्र विकास
- इलाम–१ लाई प्राविधिक शिक्षा प्राथमिकताको क्षेत्र घोषणा गर्न प्रस्ताव राखी संघीय अनुदान सुनिश्चित गरिनेछ ।
- CTEVT, विश्वविद्यालय र प्रदेशसँग समन्वय गरी चिया विज्ञान, दुग्ध प्रविधि, कृषि–प्रशोधन, पर्यटन तथा आतिथ्य र सूचना प्रविधि र डिजिटल सेवा केन्द्रित न्युनतम एउटा प्राविधिक संस्थान स्थापना गरिनेछ र अध्ययनसँगै तलबयुक्त अभ्यास जोड्ने ‘डुअल शिक्षा मोडेल-पढ्दै कमाउदै’ लागू गरिनेछ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला, गणित (STEAM) शिक्षा जोडिने पाठ्यक्रम, शिक्षक डिजिटल प्रशिक्षण र विषयगत शिक्षक साझेदारी प्रभावकारी बनाउन सहकार्य र बजेटमा जोड गरिनेछ।
- स्थानीय सरकारहरुको सहकार्यमा “भविष्यको जनशक्ति विकास प्रयोगशाला र क्याप” कार्यक्रम संचालन गरि इलामले जन्माउनेछ अर्को पुस्ताको वैज्ञानिक कार्यक्रम लागु गरिनेछ।
- अनिवार्य दुई–वर्षे शिक्षण नतिजा अडिट, प्रधानाध्यापक नतिजा सम्झौता र नियमित विद्यार्थी परामर्श कार्यक्रम लागू गरिनेछ ।
- स्थानीय मागअनुसार दुग्ध, चिया, अलैंची/जडीबुटी, आतिथ्य, विद्युत/सोलार, कृषि मेशिनरी आदि क्षेत्र सम्बन्धित सीप केन्द्र स्थापना गरि प्रभावकारी बनाइनेछ।
- कुनै पनि प्रशिक्षण प्रदायकले सार्वजनिक अनुदान पाउनुभन्दा अघि रोजगार साझेदारी देखाउनुपर्ने सर्त सहितको ‘सीप–देखि–बजार’ कार्यक्रम लागू गरिनेछ।
- विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको समन्यवमा चिया, हिमाली कृषि तथा जैविक विविधता अनुसन्धान केन्द्रको स्थापना गरिनेछ ।
- माईजोगमाई-सन्दकपुर-रेड पाण्डा-हिमाली पर्यावरण क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अनुसन्धान र फिल्ड–स्टडी क्षेत्रको रुपमा विकास गरिनेछ ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग फिल्ड स्कूल, एक्सचेञ्ज कार्यक्रम र ग्रामीण नवप्रवर्तन प्रयोगशाला तथा उच्च शिक्षाका परामर्श कार्यक्रमहरुको लागि साझेदारी गरिनेछ।
युवा, रोजगार, नवप्रवर्तन र स्थानीय उद्यम
- कृषि आधुनिकीकरण, पर्यटन, आतिथ्य, संस्कृति तथा सम्पदामा आधारित उद्यम र डिजिटल सेवा क्षेत्रमा युवा लक्षित प्रमाणपत्र कार्यक्रम लागू गरिनेछ। साथै इलाम–१ मा युवालाई सीप–देखि–रोजगार (Skills-to-Job) कार्यक्रम स्थापना गरि तलबयुक्त अभ्यास वा रोजगारीमा सिधै जोडिनेछ ।
- इलाम–१ मा युवा-उद्यम विकास प्लेटफर्म स्थापना गरि बैंक, सहकारी, तालिम संस्था र बजारसँग समन्वय गरी वित्त, सीप, कानुनी सहयोग, व्यवसाय दर्ता, प्रमाणपत्र र निर्यात सहयोगका बिजनेस सपोर्ट डेस्क स्थापना गरिनेछ ।
- संघीय स्टार्टअप सिड ग्रान्ट + कर्जा मोडेलमार्फत साना अनुदान, सुलभ कर्जा र अनिवार्य व्यवसाय परामर्श दिने व्यवस्था लागू गरिनेछ, साथै युवा नेतृत्वमा व्यवसाय दर्ता छिटो र शुल्क कम गरिने व्यवस्थाको लागि पहल गरिनेछ ।
- स्वदेश फिर्ता आएका युवालाई उद्यममा समेट्ने Returnee Youth Enterprise Program लागू गराई उनीहरूको सीप मापन गरी वित्त र व्यवसाय स्थापनामा सहयोग गरिनेछ ।
- रेमिट्यान्स लगानीमा सह–लगानी योजना, ब्याज छुट वा कर लाभ र विदेशी कार्य अनुभवलाई बैंकले उद्यम क्रेडिट योग्यतामा मान्यता दिने व्यवस्था पनि अघि बढाउन पहल गरिनेछ ।
- स्थान्य सरकारको सहकार्यमा गाउँ–स्तरीय नवप्रवर्तन र सहकार्य केन्द्र स्थापना गरि उच्च गतिको इन्टरनेट, डिजिटल उपकरण र व्यावसायिक सल्लाह उपलब्ध गराइनेछ ।
- युवा–नेतृत्वमा डिजिटल सेवा उद्यम (रिमोट वर्क, डिजिटल मार्केटिङ, पर्यटन मीडिया, ई–कमर्स) प्रवर्द्धन गरिनेछ।
- ई–कमर्स र थोक बजारसँग प्रत्यक्ष उत्पादक–देखि–खरिदकर्ताको माध्यम सिर्जना गरिनेछ।
- यस क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न ‘इलाम क्षेत्र नं १ लगानी सम्मेलन’ आयोजना गरिनेछ।
- बहुद्देश्य खेल मैदान, तालिम सुविधा तथा युवा प्रतिभा पहिचान कार्यक्रम संचालन गरिनेछ भने प्रतिभाशाली न्यून–आय वर्गका युवाका लागि खेल छात्रवृत्ति सुनिश्चित गरिनेछ।
- राष्ट्रिय खेलाडीलाई पदकपछि बिर्सिने राज्य प्रवृत्ति अन्त्य गर्दै, प्रशिक्षण, रोजगारी र मेन्टरशिपमार्फत खेल–अर्थतन्त्रको केन्द्रमा राख्ने नीति अघि बढाइनेछ।
- इलाम–१ मा युवा नीति मञ्च (Youth Policy Forum) र वार्षिक युवा विकास सभाहरू (Youth Development Assemblies) मार्फत युवा प्रतिनिधिहरूले नीतिगत प्राथमिकता र परियोजनाहरु सम्बन्धि विचार सिधै प्रस्ताव गर्न सक्ने व्यवस्था गरिनेछ।
पर्यटन र स्थानीय अर्थतन्त्र
- इलाम–१ लाई संघीय स्तरमा पूर्वी नेपाल पर्यटन सर्किटको हिस्सा बनाउने प्रस्ताव अघि वढाई चिया बगान दृश्यावलोकन, पहाडी ट्रेल, जैविकविविधताका क्षेत्र र सांस्कृतिक महत्वका क्षेत्रहरुलाई एकीकृत गरिनेछ ।
- अन्तर्राष्ट्रिय विमानस्थलका पर्यटन सूचना बोर्डहरु, विदेश स्थित नेपाली दूतावासका प्रचार सामग्री, ‘भिजिट नेपाल’ अभियान र विदेशी टुर अपरेटरहरुमा इलाम–१ का गन्तव्य समावेश गरिनेछ।
- चिया किसान तथा उद्योगहरुसँग सहकार्य गरी अवलोकन केन्द्र, चिया बगान भ्रमण मार्ग, टेस्टिङ केन्द्र, कारखाना भ्रमण, किसान-होमस्टे र चिया संस्कृति संग्रहालय समेटिएको ‘चिया पर्यटन क्लस्टर’ कार्यक्रम विकास गरिनेछ ।
- अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका संकेतकहरु, सुरक्षा चौकी, विश्रामस्थल र डिजिटल नक्सांकनसहित हिमाली पदमार्ग (ट्रेल) प्रणालीको विस्तार गरिनेछ ।
- रेड पाण्डा, काँडे भ्याकुरजस्ता दुर्लव पशुपंक्षीहरु समेटिएको इको–पर्यटनलाई अनुसन्धान तथा विदेशी स्वयंसेवक कार्यक्रमसँग जोडि बसोबास, उद्धार केन्द्र र गाइड सेवासहित ट्रेलमा–आधारित भित्रि-तराई देखि पहाडसम्मका ठाउँहरुलाई ट्रान्जिट हबमा विकास गरिनेछ।
- स्थानीय युवालाई केन्द्रमा राख्दै ट्रेकिङ, माउन्टेन बाइकिङ, जङ्गल वक् र संभाव्यता अध्ययनमा आधारमा रिजोट, होमस्टे र स्थानीय सेवासँग जोडेर ,प्याराग्लाइडिङ,रक क्लाइमिङ आदि जस्ता साहसिक पर्यटन (Adventure Toursim) सर्किटको विकास गरिनेछ ।
- होमस्टे प्रमाणीकरण तथा स्तरोन्नति (स्वच्छता, डिजिटल बुकिङ, आतिथ्य तालिम, खाद्य सुरक्षा) कालागि अनुदान विस्तार गरिनेछ । ट्रेल, पार्किङ र प्रवेश सेवा स्थानीय समूहले व्यवस्थापन गरी आम्दानी स्थानीय स्तरमै उपयोग गर्न मिल्ने सामुदायिक पर्यटन राजस्व मोडेलको प्रस्ताब गरिनेछ ।
- महिला र युवा–नेतृत्वका पर्यटन उद्यमलाई विशेष अनुदान र तालिमको लागि पहल गरिनेछ । स्थानीय सरकारहरुको साझेदारीमा सामुदायिक सांस्कृतिक केन्द्र, संग्रहालय तथा वार्षिक रुपमा ‘इलाम सम्पदा तथा संस्कृति प्रवर्धन महोत्सव’ सञ्चालन गरिनेछ।
- विभिन्न कला, संस्कृति तथा जातीय विविधता झलकाउने र विभिन्न चाड-पर्वमा बहु-उपयोग गर्न मिल्ने बहुसांस्कृतिक पार्कको निर्माण गरिनेछ ।
- साहित्य र कलाकारलाई पाठ्यपुस्तक र मञ्चमा सीमित नराखी, साहित्यिक समूह, एकीकृत विद्यालय–पुस्तकालय र वार्षिक इलाम साहित्य, कला तथा विचार प्रवर्धन महोत्सव मार्फत शिक्षा, पहिचान र पर्यटनसँग जोड्ने नीति अघि बढाइनेछ ।
पूर्वाधार र पहुँच
- पहिलो वर्षमै फिल्ड–भेरिफिकेशन, इन्जिनियरिङ अध्ययन र आर्थिक तथा सामाजिक प्रभावका आधारमा निर्वाचन क्षेत्रका पूर्वाधार प्राथमिकता सूची तयार गरी संघीय तथा प्रदेश बजेटमा समावेश गरिनेछ।
- फिक्कल-नयाँबजार-प्यांग-देउराली जोड्ने रणनीतिक चक्रपथ (रिङ–रोड) तथा सिमा-सडक को विस्तार गरिनेछ ।
- भित्रि तराई र पहाड जोड्ने लक्ष्मीपुर तथा तिनघरेबाट रोङ्ग र माइ पालिका हुँदै झापा जोड्ने सडकहरु, गोदकको सिमल गोलाई हुँदै इलाम बजार जोडिने सडक, सुर्योदयको कालापानी हुँदै सिस्ने-माइजोगमाई-४को घुमाउने-इलाम नगरपालिका ८ तिल्केनी निस्कने जस्ता सडकको समयबद्ध सम्पन्नता सुनिश्चित गरिनेछ ।
- उच्च प्रयोग हुने ग्रामीण सडकलाई बायो–इन्जिनियरिङसहित बाह्र-मासे (All Weather) सडकमा रूपान्तरण गरिनेछ भने DPR–स्वीकृत योजनाको सार्वजनिक प्रगति प्रकाशन गर्न सम्बन्धित सरोकारवालालाई लगाईनेछ।
- चिया, दुग्ध, आलु, अलैंची र तरकारी उत्पादन क्षेत्रलाई जोड्ने फार्म–देखि–बजार (Farm to Market) सडकलाई प्राथमिकता दिँदै ग्रामिण ढुवानी पहुँच कार्यक्रम (Rural Logistics Access Program) लागू गरिनेछ।
- उत्पादक र उपभोक्ता सिधै जोडिने ‘हाटबजार स्टल’को निर्माण गरिनेछ।
- कृषि निर्यात र पर्यटन प्रवाह बढाउन सीमावर्ती सडक, व्यापार मार्ग, भन्सार–लजिस्टिक्स, भण्डारण र निरीक्षण, पशु तथा कृषि क्वारेन्टाइन जस्ता पूर्वाधार निर्माण/सुदृढ गरिनेछ।
- पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन कार्यालय स्थापना गर्न कुटनीतिक पहल गरिनेछ ।
स्वास्थ्य तथा सामाजिक सुरक्षा
- संघ, प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा सुदृढीकरण योजना लागू गरी छनोट गरिएका स्वास्थ्य केन्द्रलाई २४/७ सेवा, प्रयोगशाला, प्रसूति र आपतकालीन सेवा क्षमतासहित उन्नयन गरिनेछ ।
- दुर्गम क्षेत्रमा चिकित्सक र दक्ष स्वास्थ्यकर्मी आकर्षित गर्न प्रभावकारी प्रोत्साहन प्याकेज लागू गर्न प्रस्ताब गरिनेछ ।
- चिकित्सा संस्थाहरु र सम्बन्धित निकायहरुको साझेदारीमा जनस्वास्थ्य, मातृ स्वास्थ्य, बाल पोषण, आँखा तथा दन्त उपचार, पशु–पन्छीजन्य रोग सचेतना र जेष्ठ नागरिक जाँच समेटिएका घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
- टेलिमेडिसिन सेवा र ग्रामीण रिफरल यातायात सञ्जाल (एम्बुलेन्स, आपतकालीन कल र डिजिटल ट्र्याकिङ) विस्तार गरिनेछ।
- स्वास्थ्य बीमा दर्ता अभियानमार्फत न्यून–आय भएको परिवारमा पहुँच बढाउन र दाबी भुक्तानी छिटो गराउन कार्यविधि बनाउन पहल गरिनेछ।
- विद्यालय तथा समुदायमा–आधारित पोषण कार्यक्रम, लागूपदार्थ दुरुपयोग विरुद्धको कार्यक्रम, मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम अभियान कार्यक्रम प्रवर्द्धन गरिनेछ।
जलवायु, वातावरण र विपद्
- संघीय अनुदान परियोजनामा जलवायु जोखिम मूल्याङ्कन समावेश गरिनेछ । इलाम–१ का विकास कार्यक्रमका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु अनुकूलन कोषमा पहुँच सुनिश्चित गरिनेछ।
- पहिरो तथा बाढीबाट जोखिम क्षेत्रको नक्सांकन, न्यूनीकरण र जोखिम क्षेत्रका सुरक्षा तथा तालिम परियोजनालाई प्राथमिकता दिइनेछ।
- बाढी, कटान र पहिरो जोखिम भएका क्षेत्रका लागि संघीय विपद्, नदी नियन्त्रण र चुरे जलाधार कार्यक्रम प्रभावकारी बनाइनेछ।
- किसानलाई पानी कम चाहिने बालि र सिँचाइ, नगदेबालीको विविधीकरण, कृषि–वन प्रणाली (Agroforestry) र कृषि-सौर्य उर्जा (Agrovoltaics) प्रविधिमा रूपान्तरण गराउन समन्वय गरि जलवायु जोखिम क्षेत्रसँग जोडिएका बाली र पशु बीमा दर्ता कार्यक्रम प्रवर्द्धन गरिनेछ।
स्थानीय उद्योग, साना तथा मझौला उद्यम (SME) र सहकारी
- कृषि–प्रशोधन, दुग्ध, चिया, जडीबुटी तथा खाद्य उत्पादन र प्रशोधनका लागि साना औधोगिक क्षेत्रको विकास गरिनेछ ।
- सहकारी र SME उद्यमका लागि मेसिनरी र उपकरण अनुदान सुनिश्चित गर्न पहल गरिनेछ ।
- साना उद्यमलाई कम धितोमा बैंक ऋण दिन साना उद्यम ऋण ग्यारेन्टी योजना (Small Enterprise Credit Guarantee Scheme) लागू गर्न पहल गरिनेछ र निर्यात तयारी (मानक प्रमाणीकरण, प्याकेजिङ, कानुनी परामर्श आदि ) कार्यक्रम प्रवर्द्धन गरिनेछ ।
- सहकारीमा पारदर्शिता र प्रशासन सुधारका लागि अडिट, व्यावसायिक व्यवस्थापन तालिम र लेखा, किसान भुक्तानी तथा सदस्य रेकर्डको डिजिटाइजेसन प्रवर्द्धन गरिनेछ।
- सितली, देउराली, नयाँबजार, फिक्कल र पशुपतिनगर लगायतका मुख्य बजारको गुरुयोजना (Master Planning) बनाई व्यवस्थित गरिनेछ।
लैङ्गिक तथा सामाजिक समानता र समावेशीकरण
- सहकारी र बैंक क्रेडिटमार्फत महिला नेतृत्वका उद्यमलाई वित्तीय सहायता सुनिश्चित गर्न, महिला उत्पादक समूहलाई उपकरण र तालिम अनुदान उपलब्ध गराउन पहल गरिनेछ ।
- एकल महिला, अपाङ्ग, आदिवासी, लोपन्मुख र सिमान्तकृत समुदायका लागि स्थानीय आर्थिक क्षेत्रमा लक्षित सीप तथा उद्यम प्याकेज, बजार पहुँचमा साझेदारी र क्षमता विकास (सीप, वित्तीय साक्षरता, उद्यम परामर्श) कार्यक्रम प्रवर्द्धन गरिनेछ।
- योग्य नागरिकलाई सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, किसान सहयोग तथा विपद् राहत दर्तामा समेट्ने अभियान सञ्चालन गरिनेछ।
- बदलिँदो सामाजिक सद्भाव र सामाजिक सञ्जालमार्फत हुने ठगीलाई सम्बोधन गर्न “सतर्क बसौँ, सम्मान गरौँ, सकारात्मक सोचको विकास गरौँ” भन्ने विशेष अभियान सञ्चालन गरि समाजमा विश्वास, सद्भाव र जिम्मेवार डिजिटल संस्कृतिको विकास गरिनेछ ।
सु-शासन र जवाफदेहिता
- इलाम–१ का लागि गैर–दलीय विज्ञ सल्लाहकार समूह गठन गरी कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, संस्कृति, जलवायु र सुशासनसम्बन्धी नीतिगत प्रस्ताव र परियोजना बनाइनेछ।
- साथै फिल्ड डाटा, क्षेत्रगत तथ्यांक र नागरिक सुझाव संकलन केन्द्र स्थापना गरिनेछ।
- इलाम–१ सम्बन्धी संघीय बजेट विनियोजनको कार्यान्वयन अवस्था छ महिनामा दुई पटक सार्वजनिक गरिनेछ, नियमित सार्वजनिक सुनुवाइ सञ्चालन गरिनेछ, प्रतिबद्धता ट्र्याकिङ ड्यासबोर्डमार्फत परियोजनाको अवस्था जानकारी गराइनेछ ।
- साना र ठूला पूर्वाधार योजनामा प्रगतिसूचकका आधारित ठेकेदारी प्रतिवेदन प्रणाली लागू गरिनेछ।
संघीय नीतिमा राष्ट्रिय वकालत
- Gen-Z तथा युवा समूहको भावनामा लक्षित संविधान संसोधनमा वकालत गरिनेछ ।
- प्राविधिक, व्यावसायिक र अनुप्रयुक्त शिक्षा विस्तार सहित शिक्षकहरुको हकहित राष्ट्रको अन्य कर्मचारीहरु सरह हुने शिक्षा विधेयक पारित र सुदृढीकरणका लागि सक्रिय पहल गरिनेछ ।
- सार्वजनिक खरिद ऐन सुधार गरी गुणस्तरमा–आधारित छनोट, ठेक्काको ढांचा सरलिकरण र कमजोर ठेक्कामाथि छिटो कारबाही गर्न पहल गरिनेछ ।
- संघीय निजामती सेवा कानुन लागु र प्रभावकारी कार्यान्वयनका लागि दबाब दिइनेछ ।
- संघीय परियोजना स्वीकृति प्रक्रियामा जलवायु–सहिष्णु पूर्वाधार मापदण्ड अनिवार्य गरिनेछ।
- तीनै तहको सरकारसँग समन्वय गरी कृषकको भावना समेटिएको कृषि ऐन जारी गरिनेछ र वर्गीकरण सहितको किसान परिचय पत्र वितरण गर्न पहल गरिनेछ ।
निर्वाचन क्षेत्रमा सेवा प्रणाली
- इलाममा स्थायी निर्वाचन क्षेत्र सम्पर्क कार्यालय र काठमाडौंमा संघीय मन्त्रालय, संसद् र नियामक निकायसँग समन्वय गर्ने कार्यालय स्थापना गरिनेछ ।
- नागरिक गुनासा र मागका लागि डिजिटल टिकटमा आधारित व्यवस्थापन प्रणाली गरिनेछ र निर्वाचन क्षेत्र तथा काठमाडौं दुवै स्थानमा नियमित सार्वजनिक उपस्थिती हुनेछ। हटलाइन र डिजिटल माध्यमबाट पहुँचयोग्य रहने प्रतिबद्धता गर्दछु ।
- व्यक्तिगत सांसद स्रोतको एक हिस्सा शिक्षा र सीप विकास कोषमा लगाइनेछ र भाषण होइन-मापनयोग्य नतिजाका आधारमा मूल्याङ्कन गर्न म आग्रह गर्दछु ।

